अभिनेता यशको ‘केजिएफ-२’ प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म हो। प्रशान्त निलद्वारा निर्देशित यो फिल्म आगामी जुलाई १६ मा सार्वजनिक हुने गत शुक्रबार घोषणा भएपछि दर्शकहरु उत्साहित बनेका छन्। दक्षिण भारतीय स्टार अभिनेता यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग राखेको डिएन इन्टरटेनमेन्टले जनाएको छ। ‘यश फ्यान ग्रुप’ले ट्विटरमा भारतीय प्रधानमन्त्री सामाजिक सञ्जालमा लेखेको त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ।
‘हामी सबैलाई थाहा छ यशको बहुप्रतिक्षित फिल्म केजिएफ च्याप्टर २ जुलाई १६ मा सार्वजनिक हुँदैछ। दर्शकहरु फिल्म हेर्न व्यग्र प्रतीक्षामा छन्, त्यसैले हामी सो दिन राष्ट्रिय बिदा घोषणा गर्न अनुरोध गर्छौं। यो फिल्ममात्र हैन, यो हाम्रो भावना हो। हाम्रो भावना बुझ्ने प्रयास गरिदिनु होला।’
‘केजिएफ २’ सार्वजनिक हुने मिति जानकारी गराइएसँगै अभिनेता यशका प्रशंसकहरुका लागि प्रतीक्षाको लामो समय सकिएको हो। यो फिल्म हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ।