प्रियंका चोपडाले आफ्नो प्रेमी दराजमा लुकाएको त्यो दिन….

बलिउड हुँदै हलिउड पुगेकी अभिनेत्री प्रियंका चोपडाले हिजो मंगलबार आफ्नो पहिलो आत्मकथा र संस्मरणको किताब ‘अनफिनिस्ड’ सार्वजनिक गरेकी छन्। किताबमा उनले व्यक्तिगत र व्यावसायिक कुरा मात्र उल्लेख गरेकी छैनन्। हिन्दुस्तान टाइम्सका अनुसार, प्रियंकाले किताबमा आफ्नो जीवनमा घटेका केही हास्यस्पद घटना र किस्साहरू पनि समेटेकी छन्।

प्रियंकाले बबलाई विद्यालयमै भेटेकी थिइन्। बबले उनलाई घाँटीमा लगाउने सिक्री दिएका थिए। एक अर्काको हात समात्दै हिँड्थे। प्रियंका बबलाई खुब माया गर्थिन्। रिपोर्टअनुसार, प्रियंकाले बबसँग विवाह गर्ने सोचसमेत बनाएकी थिइन् रे!

‘म सानीआमासँग बस्थे। एक दिन बब र म त्यही घरको सोफामा बसेर टिभी हेर्दै थियौं। बबले मेरो हात समातिरहेका थिए। ठ्याक्कै झ्यालबाट सानीआमा आइरहनुभएको देखेँ,’ प्रियंकाले आफ्नो किताबमा लेखेकी छन्, ‘दिउँसो २ बजेको थियो। उहाँ अरुबेला भन्दा चाँडै घर आउनुभएको थियो। बब घरबाहिर निस्कन पनि मिलेको थिएन। सानीआमालाई देखेर म एकदमै आत्तिएकी थिएँ।’

त्यसपछि प्रियंका र बब दौडिँदै प्रियंकाको कोठामा पुगे। ‘अनि बबलाई मेरो कोठाको दराजभित्र लुकाएँ,’ प्रियंकाले किताबमा लेखेकी छन्। उनले बबलाई सानीआमालाई तरकारी लिन बजार नपठाउन्जेल त्यही बस्न भनेकी थिइन्।  ‘किरण सानीआमा घरभित्र आउनुभयो। घरको कुना-काप्चा हेर्न थाल्नुभयो। म आफ्नै खाटमा बसिरहेकी थिएँ। हातमा बायोलोजी किताब पनि थियो। पढिरहेको नाटक गरिरहेँ,’ प्रियंकाले थप लेखेकी छन्, ‘उहाँले एक्कासि ढोका खोल भन्नुभयो। मैले ‘के को ढोका?’ भन्दै सोधें। दराजको ढोका खोल भनेको भन्दै सानीआमा रिसाउनु भयो। मैले सानीआमालाई त्यस्तो रिसमा कहिल्यै देखेकी थिइनँ।’

सानीआमाको रिसपछि प्रियंकाले सरासर खाटबाट उठेर दराजको ढोका खोलिन्। ‘तनाव नै भयो। दराजबाट बब निस्कियो,’ प्रियंकाले लेखेकी छन्, ‘त्यसपछि उहाँले ममीलाई फोन गरेर दराजमा केटा लुकाएको भन्दिनु भयो।’ त्यसपछि नै प्रियंका भारत फर्किन्। र, मिस इन्डियामा सहभागिता जनाइन्। उनी सन् २००० मा ‘मिस इन्डिया’ घोषित भइन्। यतिमात्र होइन, प्रियंका सन् २००० नोभेम्बर ३० मा १८ वर्षमै उनले मिस वर्ल्डको उपाधि जितिन्। मोडलिङपछि उनी बलिउड हुँदै हलिउडका फिल्ममा समेत अभिनय गरिरहेकी छन्। सौन्दर्यसँगै चरित्र अनुसार फरक भूमिकामा सशक्त अभिनय गर्ने प्रियंका फिल्म निमार्णमा पनि संलग्न छिन्। पछिल्लो समय उनले अभिनय गरेको र उनी निर्माता समेत रहेको नेटफ्लिक्स फिल्म ‘द ह्वाइट टाइगर’ हाल चर्चामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *